Thursday, October 10, 2013


८२ प्रतिशतमा टेलिफोनको पहुँच
काठमाडौं - कूल जनसंख्याको ८१ दशमलव ७२ प्रतिशतमा टेलिफोनको पहुँच पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार सार्वजनिक गरेको गत साउनसम्मको तथ्यांकअनुसार नेपालमा २ करोड १६ लाख ५१ हजार १ सय २२ जना टेलिफोन प्रयोगकर्ता छन्। पोहोर भदौदेखि यो साउनसम्ममा १४ दशमलव ५७ प्रतिशत नयाँ टेलिफोन प्रयोगकर्ता थपिएका छन्। फिक्स्ड टेलिफोन प्रयोग गर्नेको हिस्सा ३ दशमलव २० प्रतिशत छ। मोबाइल प्रयोगकर्ताको हिस्सा ७२ दशमलव ५८ प्रतिशत छ। त्यस्तै अन्य (एलएम, जिएमपिसिएस) मोबाइल प्रयोग गर्नेको संख्या ५ दशमल ९४ प्रतिशत छ।
विभिन्न प्रकारका टेलिफोन सेवा प्रदान गरेको नेपाल टेलिकमले पछिल्लो केही वर्षदेखि आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ। टेलिकमको बजार हिस्सा भ्वाइस र डाटा सेवा दुवैमा गुम्दै गएको प्रतिवेदनले देखाउँछ। टेलिकमलाई निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले पछि पारेको छ। एनसेलको जिएसएम मोबाइल प्रयोगकर्ता १ करोड ६८ लाख ९ हजार ८ सय ५२ छन्। यो कूल जनसंख्याको ४९ प्रतिशत हो। नेपाल टेलिकमको बजार हिस्सा ४३ प्रतिशत छ। टेलिकमको फिक्स्ड, वायरलेस, जिएसएम, सिडिएमए सेवा गरेर ९३ लाख ६ हजार ६ सय ७८ ग्राहक छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गर्नेको संख्या ७५ लाख ८४ हजार १ सय १३ छ। युटिएलको टेलिफोन प्रयोगकता ७ लाख २३ हजार २ सय ८७ छन्। एसटिपिएलको टेलिफोन प्रयोग गर्ने ७ लाख ७४ हजार ४ सय ८० छन्। 
नेपाल टेलिकमकी प्रवक्ता गुणकेशरी प्रधानले टेलिकमले बजार हिस्सा बढाउन विभिन्न समयमा विभिन्न अफर, योजना र स्किम ल्याउँदै आएको बताइन्। अहिले हामीले प्रवर्द्धनात्मक कार्यक्रमसहित अफर र छुट प्रदान लागिरहेका छौं, गुणस्तर बढाउने काम पनि भइरहेको छ,' उनले भनिन्। उनका अनुसार टेलिकममा रणनीतिक साझेदार आउन लागेको छ। 'त्यसपछि हामी झन् आक्रामक शैलीमा आउँछौं,' प्रवक्ता प्रधानले भनिन्। 
टेलिकम डाटा सेवामा पनि दोस्रो स्थानमा छ। इन्टरनेट बजारमा ५० प्रतिशत एनसेलको र नेपाल टेलिकमको ४८ प्रतिशत बजार हिस्सा छ। एक प्रतिशत युटिएलको र एक प्रतिशत अन्य इन्टरनेट सेवा प्रदायक कम्पनीको बजार हिस्सा रहेको प्रतिवेदनमा छ। कूल जनसंख्यामा इन्टरनेट प्रयोग गर्नेको हिस्सा २६ दशमलव ९३ प्रतिशत छ। एक वर्षको अवधिमा इन्टरनेट प्रयोगकर्ता ७ दशमलव ३३ प्रतिशतले बढेका छन्। 
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाश न्यौपानेले देशको सबै भेगमा टेलिफोनको पहुँच पुगेको बताए। 'सेवा प्रदायकले विगतमा सहरमुखी प्रतिस्पर्धा गर्थे तर पछिल्लोपटक ग्रामीण क्षेत्रलाई लक्ष्य गर्दै सेवा दिन थालेपछि पहुँच पनि बढिरहेको छ,' उनले भने। अब सेवाको गुणस्तर र मूल्यमा ध्यान दिन जरुरी रहेको उनले बताए। 'टेलिफोन सेवा सामान्य नागरिकले पनि उपभोग गर्ने किसिमले सस्तो भयो भने पहुँच अझ बढ्छ,' उनले भने, 'त्यसैले सेवा प्रदायकले यतातिर सोच्नुपर्छ।'

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube